नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले एनेकपा माओवादीसँग कुनै एकता प्रयास नभएको स्पष्ट पारेका छन् । केही दिनयता केही सञ्चारमाध्यमले दुई माओवादीबीच एकीकरण प्रयास भइरहेको दाबी गरेका थिए ।
वैद्यले भने सोमबार विज्ञप्ति जारी गर्दै दुई पार्टीबीचको एकता प्रयास ‘अत्यन्तै कपोलकल्पित तथा भ्रामक प्रचारबाजी’मात्र भएको जानकारी गराएका छन् ।
वैद्यले आफ्नो पार्टी पुष्पकमल दाहाल अध्यक्ष रहेको एनेकपा माओवादीभन्दा विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणमा परस्पर विपरीत दिशा र धारामा विभाजित रहेको उल्लेख गरेका छन् । ‘प्रचण्ड–बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन,’ वैद्यले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
वैद्यले एनेकपा माओवादीसँग एकताबारे आफ्नो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफलसम्म पनि नभएको प्रस्टीकरण गरेका छन् ।
प्रेस वक्तव्यको पूर्ण अंश
हालै कतिपय सञ्चार माध्यमद्वारा नेकपा–माओवादी र एनेकपा(माओवादी)का बीच पार्टी एकता हुँदैछ भनी अत्यन्तै कपोल कल्पित तथा भ्रामक प्रचारबाजी हुँदै आएकोमा हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षण भएको छ । यी दुई पार्टी विचारधारा, राजनीति, कार्यदिशा, कार्यक्रम, नीति र आचरणकाक्षेत्रमा दुई परस्पर विपरीत दिशा र धारामा विभाजित रहिआएको यथार्थता जगजाहेर नै छ । यहाँसम्म कि प्रचण्ड–बाबुराम गुट इतिहासमै गम्भीर प्रकारको राष्ट्रघात र जनघात गरी विश्व साम्राज्यवाद र भारतीय विस्तारवादको नाङ्गो दलालीको दिशामा पतन भइसकेको कुरा स्पष्ट छ । त्यस स्थितिमा उक्त दलाल र गद्दार गुटसँग पार्टी एकताको प्रश्नै उठ्न सक्दैन । उक्त गुटसँग पार्टी एकताबारे हाम्रो पार्टीमा कुनै पनि प्रकारको निर्णय र छलफल सम्म पनि नभएको कुराबारे हामी सार्वजनिक रुपमा स्पष्ट गर्न चाहन्छौं ।
मोहन वैद्य